मुस्ताङमा रहेको चीनसँगको कोरला नाका खुलेको छ । आज साेमवारदेखि नाका खुला गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आज बिहान दुवै देशका अधिकारीले औपचारिकरूपमा नाका सञ्चालनका लागि उद्घाटन गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले झन्डै एक हजारलाई सीमा पार पास वितरण गरेको छ । मुस्ताङका लो–घेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका स्थानीयवासीलाई पास वितरण गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। सीमा पार पास प्राप्त गरेकाहरूमध्ये कतिपय आजै चीनतर्फ गएका छन्।
नाका खुलेसँगै उत्तरी मुस्ताङका नागरिकमा खुसीयाली छाएको छ । २०७६ साल अघि वर्षमा दुई पटक कोरला नाका नजिकै मेला लाग्ने गर्थ्याे । त्यही मेलामा खरिद गरिएका सामान बेचेर मुस्ताङीले दैनिकी चलाउँथे । तर कोरोना सङ्क्रमणलाई देखाएर नाका र मेला दुवै बन्द भएपछि स्थानीयहरू समस्यामा थिए। यो नाकाबाट खासगरी पिठो, खुर्सानी, बिजुलीका सामान, पेय पदार्थलगायतको कारोबार हुन्छ। चाडबाडको समयमा भेडा च्याङ्ग्रा पनि आयात निर्यात गरिन्छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा गएका बेला नाका खोल्ने सहमति भएको थियो। नाकाका लागि चीन सरकारले भौतिक पूर्वाधार निर्माण गरेको छ। नेपालतर्फ भने खासै संरचना बनाइएको छैन। चीनले नाकामै भव्य संरचना बनाउँदा नेपालले भने बोर्डर आउटरिच पोस्ट (बीओपी) पनि नाका भन्दा १८ किलोमिटर वर नेचुङमा बनाएको छ। कोरला २४ नम्बर पिलरमा पर्छ। नाका सञ्चालन गर्न नेपालतर्फ कुनै भौतिक संरचना नभएका कारण चीन सरकारले अस्थायी भवन निर्माणका लागि कन्टेनर उपलब्ध गराएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी गुरुङले जानकारी दिए।
जोमसोमदेखि कोरला नाकासम्म कच्ची सडकको पहुँच पुगेको छ। कोरला नाकाबाट ४५ किलोमिटरको सडक यात्रामा तिब्बतमा रहेको बजार क्षेत्र पुगिन्छ। यो बाटो भएर हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश जान पनि सहज रहेको छ।