सरकारले भूकम्पको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि १० अर्ब रुपैयाँ छुट्टाउने निर्णय गर्दै अन्तर्राष्ट्रिय संघ संस्थाहरूलाई पनि सहयोग आह्वान गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार भएको बैठकले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्टाएको ८ अर्ब २५ करोड रुपैयाँ पनि भूकम्प पुनर्निर्माण कोषमा सार्ने निर्णय गरेको हो ।
त्यसैगरी भूकम्पपछिको पुनर्निर्माणका लागि प्रारम्भिक अनुमानभन्दा निकै बढी स्रोत आवश्यक पर्ने देखिएकाले विपद् व्यवस्थापन कोषमा सहयोग उपलब्ध गराउन व्यक्ति, संघसंस्थाका साथै मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई आह्वान गर्ने समेत सरकारले निर्णय गरेको छ ।
‘चालु आर्थिक वर्ष २०८०/८१ का लागि संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको ८ अर्ब २५ करोड हाललाई भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने गरी विपद् व्यवस्थापन कोषमा सार्ने र थप रु. १ अर्ब ७५ करोडसमेत सो कोषमा थप गरी जम्मा रु. १० अर्ब विपद् व्यवस्थापनका लागि उपलब्ध गराउने व्यवस्था अर्थ मन्त्रालयले मिलाउने’ निर्णयमा भनिएको छ ।