हुम्लाको सिमकोटबाट बाँकेको नेपालगञ्जका लागि उडान भर्ने क्रममा प्राविधिक समस्या आएपछि नेपाल एअरलाइन्सको ट्विनअटर जहाज सिमकोट विमानस्थलमै रोकिएको छ ।
जहाजको बायाँ इन्जिनमा खराबी आएपछि जहाज सिमकोट विमानस्थलमै रोकिएको हो । नेपालगञ्जका लागि १४ जना यात्रुहरू राखेर उडान भर्ने क्रममा जहाजमा प्राविधिक समस्या देखिएको नेपाल एअरलाइन्स सिमकोट स्टेशनका प्रमुख बलराज हमालले बताए।
नेपाल एअरलाइन्स नेपालगञ्जका सहायक बलबहादुर सुनारले भोलि दुई जना प्राविधिक आएर मर्मतपछि मात्र जहाजका बारेमा भन्न सकिने बताए। सोमवार प्राविधिकलाई बोलाउने प्रयास गरे पनि त्यो सफल हुन नसकेको उनले बताए।