जारी आइसीसी क्रिकेट विश्वकपमा आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार दिउँसो २:१५ बजेदेखि शुरु हुनेछ ।
जारी विश्वकपमा दक्षिण अफ्रिका सेमिफाइनलमा पुगिसकेको छ । दक्षिण अफ्रिका ८ खेलमा ६ जितसहित १२ अंक हासिल गरेर अहिले दोस्रो स्थानमा छ ।
सेमिफाइनलमा पुगिसकेको हुनाले दक्षिण अफ्रिका बिना दबाब यो खेल खेल्नेछ । यो खेलको नतिजाले दक्षिण अफ्रिकाको सेमिफाइनल समीकरणलाई कुनै असर गर्ने छैन र दक्षिण अफ्रिका सेमिफाइनलमा अस्ट्रेलियासँग खेल्ने यसअघि नै निश्चित भइसकेको छ।
त्यस्तै अफगानिस्तानले ८ खेलमा ४ खेल जितेर ८ अंक हासिल गर्दै अंक तालिकामा छैटौं स्थानमा छ र सेमिफाइनलको दौडमा कायम रहेको छ । यसका लागि अफगानिस्तानले दक्षिण अफ्रिकालाई ठूलो अन्तरले पराजित गर्नुपर्ने भएको छ ।
दक्षिण अफ्रिका र अफगानिस्तानबीच अहिलेसम्म केवल एक एकदिवसीय खेल भएको छ । जुन २०१९ को विश्वकपमा भएको थियो र यो खेल दक्षिण अफ्रिका ९ विकेटले विजयी भएको थियो।