सरकारले विराटनगर, मुलपानी र भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाकारुपमा अघि बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बिहान बसेको बैठकले मोरङको विराटनगर, काठमाडौंको मुलपानी र चितवनको भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाकोरुपमा अघि बढाउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
‘नेपाली क्रिकेट राष्ट्रिय टिमले निकै ठूलो सफलता हासिल गरेको छ । बैठकमा त्यसबारे पनि छलफल भयो,’ मन्त्री शर्माले भनिन्, ‘सरकारले अब विराटनगर, मुलपानी र भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने निर्णय गरेको छ ।’
बैठकले हाल इन्धनमा लगाइएको पूर्वाधार शुल्कमध्ये प्रतिलिटर ५ रुपैयाँ बुढीगण्डकी जलविद्युत् आयोजनालाई उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले कर्णाली चिसापानी जलविद्युत् निर्माणका लागि अध्ययन अघि बढाउने समेत निर्णय गरेको छ । सञ्चारमन्त्री शर्माकाअनुसार बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० मन्त्रिपरिषदबाट स्वीकृत गरेको छ ।