फिनिसर ग्लेन म्याक्सवेलको दोहोरो शतकमा अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ मा अफगानिस्तानलाई तीन विकेटले हराएको छ । यो जितसँगै अष्ट्रेलिया ८ खेलमा १२ अंकका साथ सेमिफाइनलमा पुगेको छ ।
जितको लागि २ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४६.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाको जितमा ग्लेन म्याक्सवेल १ सय २८ बलमा २१ चौका र १० छक्कासहित २ सय १ रनमा अविजित रहे ।
म्याक्सवेल घाइते हुँदा सिंगल लिन नसकेपनि चौका र छक्का हान्दै एक रुपमा खेल जिताएका हुन् । एक समय ९१-७ को अवस्थामा पुगेको अष्ट्रेलियालाई म्याक्सवेलले अविश्वसनीय इनिङ खेलेका थिए ।
आठौं विकेटका लागि ग्लेन म्याक्सवेल र प्याट कमिन्सले १ सय ७० बलमा २ सय २ रनको अविजित साझेदारी गरे । प्याट कमिन्स ६८ बलमा १२ रनमा अविजित रहे ।
अफगानिस्तानका राशिद खान, नविन उल हक र आजमतुल्लाह ओमरजाईले दुई-दुई विकेट लिए ।
त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९१ रन बनाएको थियो । अफगानिस्तानका इब्राहिम जद्रान १ सय ४३ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक १ सय २९ रनमा नट आउट रहे । जद्रान विश्वकपमा शतक हान्ने पहिलो अफगानी ब्याटर बनेका छन्।
जद्रान बाहेक अन्य ब्याटरले भने ठूलो इनिङ खेल्न सकेनन् । ओपनर रहमानउल्लाह गुरबाज २५ बलमा २ चौकासहित २२, रहमात शाह ३०, कप्तान हश्मातुल्लाह शाहिदी २६ र आजमतुल्लाह ओमरजाई २२ रनमा आउट भए ।
अष्ट्रेलिया मिचेल स्टार्कले ९ ओभरमा ७० रन खर्चिदा १ विकेट लिए । जोश हेजलवुडले ९ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक एक विकेट लिए ।
अष्ट्रेलियाले ८ खेलमा १२ अंकका साथ सेमिफाइनलमा स्थान पक्का गरेको हो ।