नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले यो वर्ष नेपाली क्रिकेटका लागि धेरै राम्रो भएको उल्लेख गर्दै अब आईसीसी टी–२० विश्वकपतर्फ ध्यान रहेको बताएका छन् ।
आज आइतवार फाइनल खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रशिक्षक देसाईले ओमानसँगको हारबाट हतोत्साहित हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै समग्रमा यो वर्ष नेपाली खेलाडीले धेरै राम्रो गरेको धारणा राखे ।याे वर्ष नेपाली खेलाडीले धेरै मेहनत गरेको उनकाे भनाइ छ ।
देसाईले आजकाे खेलमा नेपालले ब्याटिङमा राम्रो गरे पनि बलिङमा ‘पावर प्ले’ मा केही गल्ती भएको बताए । नेपाल र ओमानबीचकाे खेल ‘टाई’ भएपछि ‘सुपर ओभर’ मा पुगेकाे थियाे । ‘सुपर ओभर’ मा नेपाल पराजित भयाे ।
प्रशिक्षक देसाईले टी–२० क्रिकेटको राम्रो बलरका रूपमा अविनाश बोहोरालाई नै ‘सुपर ओभर’ मा प्रयोग गरिएको बताए । यद्यपि आज बाेहाेराले दबाब राम्रोसँग झेल्न नसकेको उनकाे भनाइ छ ।
यस्तै विवेक यादव जस्ता खेलाडी अगाडि आउनु पनि सुखद पक्ष रहेको प्रशिक्षक मोन्टीको बुझाइ छ । स–साना बालबालिका पनि क्रिकेट हेर्न आउनु भनेको नेपालका लागि सुखद पक्ष रहेको उनले बताए ।
नेपालका कप्तान रोहित पौडेलले फाइनलको नतिजा आफ्नो पक्षमा नआए पनि यो प्रतियोगिताबाट धेरै सकरात्मक नतिजा प्राप्त भएको उल्लेख गरे । अब विश्वकप आउन पाँच/छ महिनाको समय रहेको र यसबीचमा शृङ्खलाहरू व्यवस्थापन गर्दै राम्रो तयारी गर्नुपर्ने उनले बताए ।
याे प्रतियाेगितामा नेपालका गुलसन झा उत्कृष्ट युवा खेलाडी चुनिएका छन् । उनले प्रतियाेगिताभरि ७९ रन बनाउनुका साथै ५ विकेट लिएका थिए । यस्तै नेपालकै कुशल भुर्तेल उत्कृष्ट ब्याटर चुनिए । उनले १ अर्धशतकसहित १ सय ८५ रन बनाएका थिए ।
ओमानका अकिब इलियास सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । उनले प्रतियोगितामा १ सय रन बनाउनुका साथै १० विकेट लिएका थिए । यस्तै ओमानकै बिलाल खान उत्कृष्ट बलर चुनिए । उनले ५ खेलमा ११ विकेट लिएका थिए ।