स्पिनर रविन्द्र जडेजाको घातक बलिङको सहयोगमा भारतले आइसिसी विश्वकप २०२३ मा दक्षिण अफ्रिकामाथि २ सय ४३ रनको सानदार जित हात पारेको छ । भारत लगातार आठौं जितका साथ विश्वकपमा शीर्षस्थानमा रहँदै सेमिफाइनल खेल्ने पक्का भएको छ ।
जितका लागि ३ सय २७ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २७.१ ओभरमा ८३ रनमा अल आउट भयो ।
दक्षिण अफ्रिकाका मार्को यानसनले सर्वाधिक १४ रन बनाए ।
क्विन्टन डि कक ५, टेम्बा बभुमा ११, रास्सी भान डर डुसेन १३, एडेन माक्ररम ९, हेनरिक क्लासेन १ र डेविड मिलर ११ रनमा आउट भए ।
भारतका रविन्द्र जडेजाले ९ ओभरमा १ मेडनसहित ३३ रन खर्चेर ५ विकेट लिए । मोहम्मद शामी र कुलदीप यादवले दुई दुई विकेट लिए । मोहम्मद शिराजले एक विकेट लिए ।
त्यसअघि वानखडे स्टेडियम कोलकातामा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय २६ रन बनाएको थियो ।
भारतको जितमा विराट कोहली १ सय २१ बलमा १० चौकासहित १ सय १ रनमा नट आउट रहे । कोहलीको ओडिआई करिअरको ४९ औं शतक हो । कोहलीले ओडिआईमा सर्वाधिक धेरै शतक सचिन तेन्दुलकरसँगको कीर्तिमान बराबर गरेका छन् ।
भारतलाई ओपनर रोहित शर्माले २४ बलमा ६ चौका र २ छक्कासहित ४० रन बनाउँदै आक्रामक सुरुवात दिलाएका थिए । उनी कागिसो रबाडाको बलमा टेम्बा बभुमाबाट क्याच आउट भए ।
शुभमन गिल २४ बलमा ४ चौका र १ छक्कासहित २३ रन बनाउँदै केशव महाराजको बलमा बोल्ड आउट भए । श्रेयस ऐर ८७ बलमा ७ चौका र २ छक्कासहित ७७, सूर्यकुमार यादव २२ र लोकेश राहुल ८ रनमा आउट भए । रविन्द्र जडेजाले १५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा नट आउट रहे ।
दक्षिण अफ्रिकाका कागिसो रबाडा, तबरेश शाम्सी, लुंगी एनगिडी, मार्को यानसन र केशव महाराजले १(१ विकेट लिए । भारत ८ खेलमा १६ अंकका साथ शीर्षस्थानमा छ । भारतले अन्तिम खेल १२ नोभेम्बरमा नेदरल्यान्ड्ससँग खेल्नेछ । दक्षिण अफ्रिका ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगि सकेको छ ।
सेमिफाइनलमा शीर्षस्थानको भारतले चौथो स्थानमा रहनेसँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा दोस्रो र तेस्रो स्थानका टोलीबीच सेमिफाइनल हुनेछ ।