ओमानले आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा घरेलु टोली नेपाललाई सुपर ओभरमा हराउँदै उपाधि जितेको छ।
सुपर ओेभरमा जितको लागि नेपाललाई २२ रन चाहिएको थियो । तर ओमानका बिलाल खानले कसिलो बलिङ गर्दै १० रन मात्र दिएपछि नेपाल घरेलु मैदानमा उपाधि जित्नबाट चुकेको हो।
सुपर ओभरमा नेपालका अभिनाश बोहराले २१ रन दिएका थिए ।
त्यसअघि जितको लागि १ सय ८५ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनायो । त्यसपछि खेल सुपर ओभरमा पुगेको थियो । नेपाललाई जितको लागि अन्तिम ६ बलमा ८ रन रोक्नु पर्ने थियो । सन्दीपले ७ रन मात्रै दिए।
ओमानका कश्याप प्रजापतिले ५२ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६३ रनको योगदान दिए। अकिब इल्यास १९ बलमा २ चौका र ३ छक्कासहित ३३ रनमा आउट भए। दोस्रो विकेटका लागि अकिब र कश्याप प्रजापतिले ६७ रनको साझेदारी गरेका थिए । कप्तान जिशान मकसुद १८ बलमा २ चौका र १ छक्कासहित २६ रनमा क्याच आउट भए।
नेपालका सन्दीप लामिछाने र करण केसीले २-२, सोमपाल कामी, गुलशन झा र अभिनाश बोहराले १-१ विकेट लिए।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो । नेपालका गुलशन झाले २५ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ५४ रनको योगदान दिए । कप्तान रोहित पौडेलले ३७ बलमा ५ चौका र २ छक्कासहित ५२ रनमा अविजित रहे । करण केसी ६ बलमा १ चौका र २ छक्कासहित २० रन बनाए ।
एक समय सुरुवाती १० ओभरमा ६०–४ को अवस्थामा रहेको नेपाललाई पाँचौं विकेटका लागि गुलशन र रोहित पौडेलले ७८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । नेपालले अन्तिम ७ ओभरमा १ सय १८ रन बनाएपछि ओमानलाई विशाल लक्ष्य दिएको हो ।
ओमानका बिलाल खानले ३, अकिब इलियासले २ तथा जिशान मकसुदले १ विकेट लिए।
नेपाल र ओमान यसअघि नै विश्वकपमा छनोट भइसकेका छन्।