नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल बिहान-११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । विजेता टोली २०२४ को टी-२० विश्वकप खेल्न पाउनेछ ।
ओमानसँग ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको बिहीबार समूह चरणको अन्तिम खेलमा ५ रनको हारपछि नेपाल समूहको उपविजेता भएर युएईसँग खेल्नुपरेको हो । नेपाल युएईलाई हराउँदै २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्ने सोचका साथ मैदान उत्रने छ ।
नेपाल विश्वकप पुग्नेमा मोन्टी विश्वस्त छन् । ‘हामीले लाइनक्रस गर्न सकेनौं । छनोट अझै सकिएको छैन, एक खेल अझै बाँकी छ । हामी विश्वकपमा छनोट हुन सक्छौं । त्यसका लागि खेलाडीले जिम्मेवार भएर खेल्नुपर्छ,’ प्रशिक्षक मोन्टीले भने, ‘यो खेलबारे भन्नुपर्दा हामीले खेल र प्रतिद्वन्द्वीको पनि सम्मान गर्नुपर्छ । ओमानले लामो समयदेखि एकरुपको प्रदर्शन गर्दै आएको छ र दुई पटक ट्वान्टी–२० विश्वकप पनि खेलिसकेको छ ।’
नेपाल २०२१ को छनोटको निर्णायक खेलमा युएईसँग ६८ रनले पराजित हुँदै विश्वकप खेल्न पाएको थिएन । नेपाल त्यो हारको बदला लिँदै विश्वकप खेल्न चाहन्छ । नेपालको कुशल मल्ल र युएईका मोहम्मद वासिम प्रमुख विष्फोटक ब्याटर हुन् । यी दुई ब्याटरको प्रदर्शनले टोलीको योगफल वा नतिजा निर्भर हुनसक्छ । दुबै चलेको खण्डमा टोलीको जित भने सहज बनाउन सक्ने खुबी राख्छन् ।
ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको छनोटअघिको नेपाल ट्वान्टी–२० आई त्रिकोणात्मक शृंखलामा डबल राउन्ड रोबिन लिगका दुवै खेलमा नेपालले यूएईलाई मूलपानीमा हराएको थियो । तर, फाइनलमा यूएईले नेपाललाई ४ विकेटले पराजित गरेको थियो ।
नेपाल र युएईबीच टी-२० मा ८ खेल भएका छन् । नेपाल ४ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ । पछिल्ला पाँच टी-२० आई खेलमा नेपाल युएईसँग तीनपटक पराजित भएको छ ।