ओमानले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा घरेलु टोली नेपाललाई पाँच रनले हराउँदै समूह ए को विजेता बनेको छ । योसँगै नेपालले समूह बी को विजेता युएई र ओमानले समूह बी को उपविजेतासँग शुक्रबार सेमिफाइनल खेल्नेछन् ।
जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन बनायो । नेपालका विवेक यादवले २४ बलमा ५ छक्कासहित सर्वाधिक ३९ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् ।
नेपाललाई जितको लागि अन्तिम ६ बलमा २६ रन चाहिँएको थियो । विवेक यादवले सुरुवाती दुई बलमा बिलाल खानलाई छक्का हानेपछि बाँकी चार बलमा १३ रन चाहिँएको थियो । तेस्रो बल विवेकले लङअनमा छक्का हानेपछि खेल रोचक बनेको थियो ।
नेपाललाई जितको लागि तीन बलमा ७ रन चाहिँएको थियो । चौथो बलमा विवेक स्वलो बलमा क्याच आउट भएका थिए । पाँचौं बलमा अभिनाश बोहराले एक रन लिए । अन्तिम बलमा छक्का चाहिएको थियो । करण स्ट्राइकमा थिए । तर करण लङअनमा क्याच आउट भएपछि नेपाल पराजित भएको थियो ।
त्यस्तै कुशल भुर्तेलले २६ र करण केसीले १५ रनको योगदान गरे । नेपालका तीन खेलाडीले १२–१२ रन जोडे । नेपालका कप्तान रोहित पौडेल, सन्दिप जोरा र सोमपाल कामीले १२–१२ रन जोडे । त्यस्तै कुशल मल्लले १० रनको योगदान गरे । गुल्शन झा ३, आशिफ शेख ५ र सन्दिप लामिछाने २ रनमा आउट भए । अभिनाश बोहरा एक रनमा अविजित रहे ।
ओमानका लागि बिलाल खानले तीन, शकिल अहम्मद, मेहरान खान, अकिव इलियासले दुई-दुई तथा कप्तान जिशन मक्शुदले एक विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनायो । ओमानका जिशान मकसुदले २६ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३२ रन बनाए ।
नसिम खुसीले १४ बलमा २ चौका र २ छक्कासहित २५ रन बनाए । ओमानका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
करण केसीले ४ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए। सोमपाल कामीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । गुलशन झाले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । अविनाश बोहराले पनि १ विकेट हात पारे।