काठमाडौं – पाकिस्तानले विश्वकप २०२३ मा मंगलबार बंगलादेशमाथि सहज जित निकालेको छ। उसले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो। लगातार खराब प्रदर्शनपछि पाकिस्तानले महत्वपूर्ण जित निकालेको हो। यो जितपछि पाकिस्तानको ६ अंक भएको छ र अफगानिस्तानलाई उछिनेर पाँचौं स्थानमा उक्लेको छ। आजको हारसँगै बंगलादेशको भने सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ। पाकिस्तानको भने सम्भावना जिवितै छ।
जितको लागि २ सय ५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको पाकिस्तान ३२.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा फखार जमानले ७४ बलमा ३ चौका र ७ छक्कासहित ८१ रनको योगदान दिए ।
अर्का ओपनर अब्दुल्लाह शफिक ६९ बलमा ९ चौका र २ छक्कासहित ६८ रनमा आउट भए । बाबर आजम भने १६ बलमा १ चौकासहित ९ रनमा क्याच आउट भए । मोहम्मद रिजवान २१ बलमा ४ चौकासहित २६ र इफ्तिखार अहमद १५ बलमा २ चौकासहित १७ रनमा नट आउट रहे । बंगलादेशका स्पिनर मेहेदी हसन मिराजले ९ ओभरमा ६० रन खर्चेर ३ विकेट लिए ।
त्यस अगाडि पहिले ब्याटिङ गरेको बंगलादेशले ४५.१ ओभरमा सबै विकेट गुमाएर २ सय ४ रन बनाएको थियो । बंगलादेशका लागि लिप्टन दासले ४५, महमुदुल्लाहले ५६ तथा कप्तान साहिक अल हसनले ४३ रन बनाए । पाकिस्तानी बलरमध्ये साहिद अफ्रिदी र मोहम्मद वासिमले ३/३ विकेट लिए ।