नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा मलेसियामाथि ६ विकेटको सानदार जितका साथ सेमिफाइनलमा स्थान बनाएको छ । समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका हुन् ।
जितको लागि १६६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
नेपालका कुशल मल्लले ३४ बलमा २ चौका र ७ छक्कासहित सर्वाधिक ६५ रन बनाए। ओपनर कुशल भुर्तेलले २५ बलमा ४ चौका र ४ छक्कासहित ४३ रन बनाए।
ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ५.२ ओभरमा ४९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । आसिफले ३२ रन बनाए। सन्दीप जोरा १८ रनमा अविजित रहे।
मलेसियाका अमिर अजिमले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । पवनदीपको नाममा १ विकेट रह्यो ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो । मलेसियाका ओपनर सैद अजिजले ४९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६८ रनको योगदान दिएका थिए।
ओपनर अहमद जुबैदी र सैद अजिजले ५.५ ओभरमा ५८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । अभिनाश बोहराको छैटौं ओभरको पाँचौं बलमा ठूलो सर्ट खेल्ने क्रममा टप एज लागेर जुबैदी कुशल मल्लबाट क्याच आउट भए। जुबैदीले १६ बलमा ३ चौकासहित २४ रन बनाए।
कप्तान अहमद फैज ३ रन बनाएर रनआउट हुँदा विरेनदीप सिंह पनि ४ रनमा आउट भए । सार्भिन मुनिन्डेले १३ रन बनाउँदा मोहम्मद अमिरले ८ रन बनाए ।
नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले ४ ओभरमा २७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए ।
गुलशन झाले ३ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । रोहित पौडेलले २ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । करण केसीले ४ ओभरमा ४२ रन खर्चिए । सोमपाल कामीले २ ओभरमा १८ रन खर्चेका थिए ।