घरेलु टोली नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा सिंगापुरलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । उपाधि दाबेदार नेपालले अंक तालिकामा दुई महत्वपूर्ण अंक जोडेको हो ।
त्रिवि क्रिकेट मैदानमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले मात्र २ विकेट गुमाएर १६.३ ओभरमा पूरा गरेको हो ।
नेपालको जितमा ओपनर कुशल भुर्तेलले ४८ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ७४ रन बनाए ।रोहित पौडेल २४ बलमा २ चौका र २ छक्कासहित ३५ रनमा अविजित रहे ।
नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ९.१ ओभरमा ८४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।
सिंगापुरका लागि अनन्त कृष्ण र अक्षय पुरीले १-१ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो । सिंगापुरका ओपनर रोहन रंगराजनले ३० बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाएका थिए । डेब्यू खेल खेलेका आर्यवीर चौधरीले २६ बलमा ५ चौकासहित ३७ रनको योगदान दिएका थिए ।
नेपालका लागि अभिनाश बोहोराले सर्वाधिक ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले दुई-दुई विकेट लिए ।
नेपालले दोस्रो खेल मंगलबार मलेसिया र तेस्रो खेल बिहीबार ओमानसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके सेमिफाइनल खेल्नेछ ।
समूह ए मा नेपाल, मलेसिया, सिंगापुर र ओमान छन् । समूह बी मा युएई, हङकङ, बहराइन र कुवेत छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।