आइसिसी विश्वकप क्रिकेटमा गत संस्करणको च्याम्पियन इंग्ल्याण्ड समूह चरणबाटै बाहिरीएको छ । ६ मध्ये ५ खेलमा पराजय भोगेको इंग्ल्याण्डले अब बाँकी ३ खेल जित्दा पनि सेमिफाइनल पुग्ने छैन । आज भएको खेलमा इंग्ल्याण्ड भारतसँग १०० रनको फराकिलो अन्तरले पराजित भयो ।
२३० रनको सामान्य लक्ष्य पछ्याएको इंग्ल्याण्डको टोली ३४.५ ओभरमा सवै विकेट गुमाएर १२९ रनमा समेटिएको हो । जितसँगै भारत ७ खेलबाट १२ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । भने भारतको सेमिफाइनल स्थान पक्का भएको छ ।
इंग्ल्याण्डका लियाम लिभिङस्टोनले सर्वाधिक २७ रन बनाउँदा डेभिड मलान र डेभिड विल्लीले समान १६–१६ रन बनाए। मोइनल अलीले १५ रन बनाउँदा जोनी वेरिस्टोले १४ रन जोडे । कप्तान जोस बटलर १० तथा आदिल रसिदले १३ रन बनाए।
भारतका मोहम्मद सामीले सर्वाधिक ४ विकेट लिँदा जसप्रित बुमराहले ३ विकेट लिए । यस्तै कुलदीप यादवले २ विकेट लिँदा रविन्द्र जडेजाले १ विकेट हात पारे ।
लखनउको अटल विहारी बाजपेई क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २२९ रन बनाएको थियो ।
भारतका लागि सर्वाधिक रन कप्तान रोहित शर्माले बनाए। उनले १०१ बलमा १० चौका र ३ छक्काको मद्दतले ८७ रन बनाए।
त्यस्तै केएल राहुलले ३९, सुर्य कुमार यादवले ४९ र जसप्रित बुम्राहले १६ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । विराट कोहलीले खाता नै खोल्न सकेनन् । शुभमन गिलले ९ रनको योगदान गर्दा रविन्द्र जडेजाले ८ रन जोडे । त्यस्तै कुलदप यादव ९ रनमा अविजित रहे ।
इंग्ल्याण्डका लागि डेविड विलिले तीन, क्रिश वक्स र आदिल रशिदले दुई-दुई तथा मार्क उडले एक विकेट लिए ।
भारत ६ खेलमा १२ अंकका साथ शीर्षस्थानमा छ । इंग्ल्यान्ड ६ खेलमा १ मा जित र ५ मा हारसहित २ अंकका साथ पुछारमा छ । इंग्ल्यान्डले अव अष्ट्रेलिया, नेदरल्यान्ड्स र पाकिस्तानसँग खेल्नेछ । बाँकी सबै खेल जितेपनि इंग्ल्यान्डको मात्रै ८ अंक हुनेछ । ८ अंक अन्तिम चारमा रहेर सेमिफाइनलमा पुग्न पर्याप्त देखिदैन ।