कोटेश्वर–जडीबुटी सडकखण्डमा भेहिकल अन्डरपास र फ्लाइओभर निर्माण गर्न अध्ययन प्रतिवेदन बुझाइएको छ । सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर राधिका प्रजापतिले कोटेश्वर–जडीबुटी सडकखण्डमा अन्डरपास र फ्लाइओभर निर्माण हुने बताउँदै त्यसका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अध्ययन गरेर सोको प्रतिवेदन सडक विभागलाई बुझाएको जानकारी दिइन्।
कोटेश्वर र जडीबुटी क्षेत्रको ट्राफिक जाम समस्या समाधान उपायसहितको अध्ययन गर्न सरकारले जाइकालाई जिम्मेवारी दिएको थियो । भेहिकल अन्डरपास र फ्लाइओभर निर्माणसँगै काठमाडौँको ट्राफिक व्यवस्थापनको टाउको दुखाइका रूपमा रहेको सो ठाउँको समस्या स्थायी रूपमा समाधान हुने विश्वास गरिएको छ ।
यसका लागि करिब २५ अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रतिवेदन अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण भागमुनि अन्डरपास र जडीबुटीदेखि कोटेश्वर चोक क्षेत्रमा फ्लाइओभर निर्माण हुने छ ।