भारतीय अर्बपति मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको छ।
रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष समेत रहेका मुकेश अम्बानीलाई पैसा माग्दै ज्यान मार्ने धम्की आएको बिबिसीले उल्लेख गरेको छ।
मुम्बई पुलिसका अनुसार एक अनजान व्यक्तिले इमेलमार्फत् मुकेश अम्बानीसँग बीस करोड भारू मागेका छन्। उक्त पैसा नदिए ज्यान मार्ने धम्की उनलाई दिएका हुन्।
ती व्यक्तिले पठाएको इमेलमा भनिएको छ, ‘तिमीले हामीलाई बीस करोड रूपैयाँ (भारू) नदिए हामी तिम्रो ज्यान लिनेछौं। हामीसँग भारतका एकदमै राम्रा सुटर (गोली हान्ने व्यक्ति) छन्।’
मुकेश अम्बानीलाई यो धम्की अक्टोबर २७ मा शादाब खान नामको व्यक्तिको इमेलबाट आएको बिबिसीले उल्लेख गरेको छ।
भारतकै धनाढ्य मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको यो पहिलोपटक होइन। गत वर्ष मुम्बई पुलिसले मुकेश अम्बानी र उनको परिवारलाई पनि धम्की दिने व्यक्तिलाई बिहारबाट पक्राउ गरेको थियो।