नेपालसहित विश्वका १ सय २० राष्ट्र इजरायल-हमासबीच जारी द्वन्द्वमा तत्काल मानवीय युद्धविरामको पक्षमा देखिएका छन् । राष्ट्र संघीय महासभामा विशेष सत्रमा जोर्डनले ल्याएको तत्काल मानवीय युद्धविरामसम्बन्धी प्रस्तावको पक्षमा नेपालसहित १ सय २० राष्ट्रले मतदान गरेका छन् ।
सो प्रस्तावको विपक्षमा इजरायल, अमेरिकासहित १४ देशले मतदान गरेका छन् भने भारतसहित ४५ देश तटस्थ रहे । तटस्थ रहने अधिकांश देश अमेरिकाको सैन्य गठनमा रहेका पश्चिमा राष्ट्रहरू छन् । प्रस्तावमा बिनासर्त मानवीय युद्धविरामका साथै अन्तर्राष्ट्रिय मानवीय कानुनको पालनालाई जोड दिइएको छ । प्रस्तावमा बन्धक बनाइएका सबै नागरिकहरूको रिहाइ र गाजामा सबै प्रकारका अत्यावश्यक वस्तुको आपूर्तिमा जोड दिइएको छ । ‘तत्काल, भरपर्दो र दियो मानवीय युद्धविराम जसले दुश्मनीलाई समाप्त गर्न सकोस्’भन्ने प्रस्ताव गरिएको छ ।
महासभाले पारित गरेको प्रस्ताव मान्य बाध्यकारी नभए पनि इजरायल र हमासबीच जारी द्वन्द्वमा विश्व जनमत कतातर्फ छ भन्ने देखाउने आधार भने हुनेछ । अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणपछि प्यालेस्टाइन भूभाग गाजामा इजरायलले हवाई आक्रमण गर्दै आएको छ । इजरायलले गरेको आक्रमणमा परी ७ हजारभन्दा बढट्ठ प्यालेस्टिनीको मृत्यु भइसकेको छ । त्यसैगरी इजरायलले गाजामा अत्यावश्यक सामग्रीको आपूर्तिमा पनि नाकाबन्दी गरेको छ ।
त्यसैगरी हमासको नामै तोकेर निन्दा गर्ने सम्बन्धी क्यानडाले ल्याएको संशोधन प्रस्ताव भने असफल भएको छ । अमेरिकाको समेत समर्थन रहेको सो प्रस्तावको पक्षमा ८८ राष्ट्र रहे भने ५५ राष्ट्रले विपक्षमा मतदान गरेका छन् । नेपालसहित २३ राष्ट्रले उक्त मतदानमा भाग लिएनन् ।