घाँस काट्ने क्रममा भीरबाट खसेर घाइते भएका कलाकार प्रकाश घिमिरेको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । अस्पताल स्रोतका अनुसार घिमिरेको स्वास्थ्यमा केही सुधार भएको, बोलाउँदा सुनेको प्रतिक्रिया दिने अवस्थामा छन् ।
घिमिरे अहिले पोखराको मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचाररत छन्।
शुक्रबार बिहान पोखरा ३ नदीपुरको भिरमा घाँस काट्ने क्रममा उनी लडेर घाइते भएका हुन् ।
अस्पतालका अनुसार प्रकाशको टाउकोमा चोट लागेको छ। छातीको करङ भाँचिएर फोक्सोमा छोएको छ। ढाडमा पनि चोट लागेको छ।
उनलाई थप उपचार गर्न शनिबार काठमाडौं लैजाने तयारी गरिएको परिवारले जनाएको छ।
नाटकबाट अभिनय यात्रा थालेका प्रकाशले हालसम्म तीन दर्जनभन्दा बढी नाटकमा अभिनय गरिसकेका छन्।
२०६१ सालतिर निर्देशक नवीन सुब्बा निर्देशित टेलिसिरियल ‘दलन’ मा अभिनय गरेर उनी फिल्मी क्षेत्र प्रवेश गरेका थिए।
उनले ‘टलकजंग भर्सेस टुल्के’, ‘पशुपति प्रसाद’, ‘फन्को’, ‘जात्रा’, ‘पञ्चेबाजा’, ‘पानीफोटो’ लगायत दर्जनौं फिल्ममा अभिनय गरेका छन्।
प्रकाश अभिनीत चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ अहिले प्रदर्शनमा छ।