काठमाडौं – त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिजको उपाधिका लागि आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै छ ।
बिहान ११ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा नेपाल, यूएईलाई लगातार तेस्रो पटक पराजित गर्दै सिरिजको उपाधि जित्ने योजनामा हुने छ । पछिल्लो सयम सानदार प्रदर्शन गर्दै आएको नेपाल घरेलु मैदानमा १५ खेल यता अपराजीत छ । यूएई भने नेपालसँग भोगिरहेको पराजयको बदला दिने दाउमा हुने छ । नेपाल लिग चरणमा अपराजित रहँदै फाइनल प्रवेश गरेको थियो भने नेट रनरेटका आधारमा हङकङलाई पछि पार्दै यूएईले नेपालसँगको भेट पक्का गरेको हो ।
यसै सिरिजमा हंङकङविरुद्ध कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले पाँचौं विकेटका लागि १ सय ४५ रनको विश्व कीर्तिमानी साझेदारी गरेका थिए । सिरिजमा हालसम्म १ सय ४७ रन बनाएका आसिफ शेख सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा छन् । १० विकेट लिएका करण केसी र ७ विकेट लिएका सोमपाल कामी सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष दुई स्थानमा छन् । कुशल मल्ल, कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी राम्रो लयमा छन् ।
आईसीसी टी-ट्वेन्टी विश्वकप छनोटअघि नेपाल र यूएईका लागि यो अन्तिम खेल हो । त्यसकारण टिमको कमजोरी पत्ता लगाउन र रणनीति बनाउन यो खेल दुवै टिमका लागि निकै महत्वपूर्ण हुनेछ । फाइनल खेलका लागि दुवै टिमले आफ्नो उत्कृष्ट टिम मैदानमा उतार्ने छन् ।