ढोग (दर्शन) नगरेको भन्दै कुटपिट गर्ने दुई जनालाई सल्यान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सल्यान बागचाैर नगरपालिका- ७ स्यालागाउँका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओली रहेका छन् ।
उनीहरूले ४ कार्तिकमा गाउँको उपकार आधारभूत विद्यालयको खेल मैदानमा गाउँकै २० वर्षीय घनश्याम ओलीलाई कुटपिट गरेका थिए । सल्यानका प्रहरी प्रमुख नवीन कार्कीका अनुसार मैदानमा सहभागी केशरले घनश्यामलाई ‘ए भाइ तेरो दाइलाई ढोग गर’ भनेका थिए ।
केशरले खुट्टामा नै ढोग गर्न लगाएपछि घनश्यामले ‘मैले किन तपाईँलाई ढोग्नु ढोग्दिनँ’ भन्ने जवाफ दिएका थिए ।
त्यसपछि केशर र घनश्यामबिच हात हालाहाल भएको थियो । त्यसपछि केशर र सन्तोष मिलेर घनश्यामलाई कुटपिट गरेका थिए । घनश्यामको टाउको र शरीरको विभिन्न भागका मरणासन्न हुने गरी घाइते बनाएर त्यहीँ छोडेर भागेका थिए।
शरीरभित्र रगत जमेको र उपचार सम्भव नहुने भएपछि नेपालगञ्ज हुँदै भारतमा लगिएको थियो। घाइते घनश्यामको भारतको नानपारामा बुधबार बिहान मृत्यु भएको हो ।
दुवै जनालाई कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्दामा पक्राउ पुर्जी लिई इलाका प्रहरी कार्यालय थारमारेकाे हिरासतमा राखिएको छ।