काठमाडौं – अस्ट्रेलियाले भारमातमा जारी आइसिसी एकदिवसीय विश्वकपमा बुधबार नेदरल्यान्ड्समाथि ३ सय ९ रनको विशाल जित निकालेको छ । एकदिवसीय विश्वकप क्रिकेटमा यो रनको हिसाबले सवैभन्दा ठूलो ऐतिहासिक जित हो।
यससँगै लगातार तेस्रो जित निकालेको अस्ट्रेलिया पाँच खेलबाट ६ अंकका साथ चौथो स्थानमा छ । चौथो पराजय व्यहोरेको नेदरल्यान्ड्स समान खेलबाट दुई अंकका साथ पुछारमा छ ।
दिल्लीस्थित अरुण जेट्ली क्रिकेट रंगशालामा अस्ट्रेलियाले प्रस्तुत गरेको ४ सय रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २१ ओभरमा ९० रनमै समेटियो ।
नेदरल्यान्ड्सका लागि विक्रमजित सिंहले २५, तेजा निदामानुरुले १४, कप्तान स्टक एड्वार्डसले अविजित १२ कोलिन एकरम्यानले १२ र साइब्रान्ड एन्गलब्रेचले ११ रन जोडे ।
अस्ट्रेलियाका लागि एडम जाम्पाले चार, मिचेल मार्शले दुई तथा जोश हेजलउड, मिचेल स्टार्क, प्याट कमिन्सले समान एक-एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ९९ रनको योगफल तयार पारेको थियो ।
अस्ट्रेलियाका लागि ग्लेन म्याम्सवेलले ४४ बलमा नौ चौका र आठ छक्काको मद्दतले सर्वाधिक १ सय ६ रनको योगदान गरे ।
यससँगै म्याक्सवेलले सबैभन्दा कम बलमा विश्वकपमा शतक बनाउने कीर्तिमान कायम गरेका छन् । उनले यसै विश्वकपमा दक्षिण अफ्रिकाका एडेन मार्क्ररमले ४९ बलमा बनाएको शतकको कीर्तिमान तोडेका हुन् ।
यसैगरी डेविड वार्नरले ९३ बलमा ११ चौका र तीन छक्काको मद्दतले १ सय ४, स्टिभ स्मिथले ६८ बलमा नौ चौका र एक छक्काको मद्दतले ७१, मार्नुस लाबुसेनले ४७ बलमा सात चौका र दुई छक्काको मद्दतले ६२, जोश इङ्लिसले १४ र कप्तान प्याट कमिन्सले अविजित १२ रन जोडे ।
वार्नरले दोस्रो विकेटका लागि स्मिथसँग १ सय ३२ र तेस्रो विकेटका लागि लाबुसेनसँग ८४ रनको साझेदारी गरे । यसैगरी सातौंं विकेटका लागि म्याक्सवेल र कमिन्सले १ सय ३ रनको साझेदारी गरेका थिए ।
नेदरल्यान्ड्सका लागि लोगन भा बिकले चार, बास डि लिडेले दुई र आर्यन दत्तले एक विकेट लिए ।