बडादशैंकाे ११ औं दिन अर्थात एकादशी,आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका र जमरा लगाइ आशिर्वाद लिने क्रम जारी छ ।
दशमीको दिन लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आज पनि टिका लगाउने गरिन्छ । नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने-दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाउने गरिन्छ ।
आफूभन्दा अग्रज मान्यजनहरूको हातबाट टीका ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास रहिआएको छ । ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दशैँलाई, आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको पर्वका रूपमा लिने गरिन्छ ।
टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म टाढा टाढा रहेका मान्यजनकहाँ पुगी नवदुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा ग्रहण गर्ने चलन छ । कोजाग्रत पूर्णिमाकाे दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो बडादशैं अर्थात् दुर्गा पक्ष सकिन्छ ।