काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा भइरहेको गतिविधिबाट पाठ सिकेर अघि बढ्न सुझाव दिएका छन् ।
मंगलबार महाराजगञ्जस्थित निर्मल निवासमा नेपालीहरूको महान चाड विजया दशमीको अवसरमा सर्वसाधारणहरूलाई टीका लगाइदिँदै उनले यस्तो सुझाव दिएका हुन् । उनले व्यंग्यात्मक रूपमा देशमा भइरहेका गतिविधिप्रति लक्षित गर्दै छिनछिनमा भूइँचालो गइरहेकाले विचार गरेर बस्न आग्रह गरे ।
उनले भने, ‘सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा दसैँको शुभकामना दिन चाहन्छु । धेरै भन्नु पनि हुँदैन, सप्तमीको दिनमा भनेको छु । हामीले पाठ पनि सिक्नुपर्नेछ । छिनछिनमा भुइँचालो पनि आइरहेको छ । विचार गर्नुस् ।’
पूर्वराजा शाहले नेपालीहरूको महान चाड विजया दशमीको अवसरमा सम्पूर्ण नेपालीहरूमा दसैँको शुभकामना दिए । उनले यसअघि अपरान्ह पौने चार बजेबाट आम सर्वसाधारणलाई दसैँको टीका लगाइदिएका थिए ।