कप्तान देव खनाल नेपालबाट यू-१९ क्रिकेटमा तीन शतक हान्ने पहिलो नेपाली खेलाडी बनेका छन् । मलेसियामा जारी यू१९ प्रिमियर कपको फाइनल खेलमा युएईविरुद्ध शतक हान्दै देवले नेपाली क्रिकेटमा दुर्लभ इतिहास रचेका हुन् ।
उनी नेपाली क्रिकेटमा यू१९ मा तीन शतक हान्ने पहिलो खेलाडी बनेका हुन् । युएईविरुद्ध उनले ९२ बलमा ९ चौका र ३ छक्कासहित १ सय रनमा आउट भएका छन् ।
समूह चरणमा उनले इरानविरुद्ध ६० बलमा १२ चौका र ४ छक्कासहित १ सय रनमा आउट भएका थिए । उनले गत फागुमा आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय १७ बलमा ९ चौका र ३ छक्कासहित १ सय २५ रनको शतकीय इनिङ खेलेका थिए । उनकै उच्च प्रदर्शनमा नेपालले ८ वर्षपछि यू१९ विश्वकपमा स्थान बनाएको थियो ।
नेपालबाट यसअघि एकै उमेर समूहमा कुनैपनि खेलाडीले एक भन्दा बढी शतक हानेका थिएनन् ।