भारतीय क्रिकेट टीमका पूर्व कप्तान तथा स्पिनर विशनसिंह बेदीको सोमबार दिल्लीमा निधन भएको छ । ७७ वर्षका बेदी २ वर्षदेखि बिरामी थिए ।
यो समयमा उनको पटक पटक शल्यक्रिया गरिएको थियो । गत महिना मात्रै उनको घुँडाको शल्यक्रिया गरिएको थियो ।
बेदीलाई भारतीय क्रिकेट टीममा स्पिन बलिङमा क्रान्ति ल्याउने खेलाडीको रुपमा लिने गरिएको छ । विश्वका उच्चकोटीका बायाँ हाते स्पिनरमध्येमा बेदी पर्छन् ।
१९४६ को पञ्जाबको अमृतसरमा जन्मेका बेदीको टेस्ट क्रिकेटमा सबैभन्दा बढी विकेट लिने भारतीय खेलाडीको कीर्तिमान थियो । १९६७ देखि १९७९ बीचमा उनले ६७ टेस्ट क्रिकेट खेल्दै २६६ विकेट लिएका थिए । उनी सन् १९७५ देखि १९७९ सम्म भारतीय टोलीका कप्तान रहेका थिए ।
उनले १० वटा वान डे पनि खेलेका थिए । वान डे क्रिकेटमा भारतको पहिलो जीतमा उनको भूमिका महत्त्वपूर्ण रहेको थियो ।