तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बिएफआर) मा सहभागी हुन चीन भ्रमणमा रहँदा हृदयघात भएर बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिटलमा उपचाररत उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ डिस्चार्ज भएका छन् ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ सोमबार अस्पतालबाट डिस्चार्ज भएका हुन् । कार्तिक १ मा हृदयघात भएका उनी पाँच दिनदेखि उक्त अस्पतालमा उपचाररत थिए ।
उपचारको क्रममा श्रेष्ठको छातीमा ‘स्टेन्ट’ राखिएको छ । अस्पतालबाट डिस्चार्ज हुने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो उपचारमा संलग्न चिकित्सक, अस्पताल परिवार र बेइजिङस्थित नेपाली दूतावासप्रति आभार प्रकट गरेका थिए । आफ्नो स्वास्थ्यवस्थाप्रति चासो, चिन्ता र शुभेच्छा राख्ने सबैप्रति उनले आभार व्यक्त गरेका छन् ।
उपप्रधानमन्त्री श्रेष्ठ कार्तिक ८ गते बिहान स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।