नेपाल यू-१९ राष्ट्रिय क्रिकेट टोली एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ ।
वर्षाले प्रभावित सेमिफाइनलमा जापानलाई डकवर्थ लेविस पद्दतिमा १ सय ४४ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । अपराजित नेपाल प्रतियोगिताको फाइनलमा पुगेसँगै यू-१९ एसिया कपका लागि पनि छनोट भएको छ ।
नेपाल २५ ओभरमा २ विकेट गुमाएर १ सय ४० रनको स्थितिमा रहँदा वर्षाले खेल बाधक बनाएको थियो । त्यसपछि लामो समय वर्षा हुँदा जापानले २२ ओभरमा जितका लागि १ सय ८७ रनको लक्ष्य पाएको थियो । नेपालले ५० ओभर खेल्न ब्याटिङ सुरु गरेको र वर्षाले बिथोलेपछि डकवर्थ लेविस पद्दतिबाट जापानले सो लक्ष्य पाएको थियो ।
‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा एक सय ४४ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
नेपालले अब प्रतियोगिताको अक्टोबर २४ तारिखमा हुने फाइनल खेलमा उपाधिका लागि संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्नेछ ।
प्रतियोगिताको शीर्ष ३ टोलीले पाकिस्तानमा हुने यू-१९ एसिया कप खेल्नेछन् । नेपाल र यूएई एसिया कपमा पुगेका छन् । अब जापान र सिंगापुरले तेस्रो स्थान र एसिया कपमा स्थान बनाउन खेल्नेछन् ।