उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ।
चीनको भ्रमणका क्रममा रहँदा यही कात्तिक १ गते हृदयघात भएपछि उनी बेइजिङस्थित पेकिङ मेडिकल कलेज अस्पतालमा भर्ना भएका थिए।
उपप्रधानमन्त्री श्रेष्ठ शनिबार बिहानदेखि अस्पतालभित्रै सामान्य हिँडडुल गर्न थालेको उनका स्वीकय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए। हृदयघात भएपछि उनको छातीमा ‘स्टेन्ट’ राखिएको छ।
यसैबीच, उपप्रधानमन्त्री श्रेष्ठसँग चिनियाँ समकक्षी एवं चीनका सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओहङले अस्पतालमा भेट गरी शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। यसअघि सार्वजनिक सुरक्षामन्त्री वाङले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए।