काठमाडौं – विराट कोहलीको शतकमा भारतले आइसिसी विश्वकप २०२३ मा लगातार चौथो जित हात पारेको छ। बंगलादेशलाई ७ विकेटले हराउँदै भारतले सेमिफाइनल सम्भावना मजबुत पनि बनाएको छ।
जितको लागि २५७ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४१.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। विराट कोहली ९७ बलमा ६ चौका र ४ छक्कासहित १०३ रनमा नट आउट रहे। कोहलीको यो ओडिआई करिअरको ४८ औं शतक हो।
ओडिआईमा सर्वाधिक धेरै शतक सचिन तेन्दुलकरले ४९ प्रहार गरेका छन्। उक्त कीर्तिमान तोड्न अब दुई शतक मात्रै बाँकी छ।
केएल राहुल ३४ रनमा नट आउट रहे। भारतलाई ओपनर शुभमन गिल र रोहित शर्माले १२.४ ओभरमा ८८ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। रोहित शर्मा ४० बलमा ७ चौका र २ छक्कासहित ४८ रनमा आउट भए। गिल ५५ बलमा ५ चौका र २ छक्कासहित ५३ रनमा आउट भए।
बंगलादेशका मेहेदी हसन मिराजले १० ओभरमा ४७ रन खर्चेर २ विकेट लिए। हसन मोहम्मदले एक विकेट लिए।
त्यसअघि पुणेमा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २५६ रन बनाएको थियो। बंगलादेशका ओपनर लिन्टन दासले ८२ बलमा ७ चौकासहित सर्वाधिक ६६ रन बनाए।
अर्का ओपनर तानजिद हसन ५१ रनमा आउट भए। बंगलादेशलाई ओपनर हसन र दासले १४.४ ओभरमा ९३ रन जोड्दै सानदार सुरुवात दिलाएका थिए। तर त्यो सुरुवातलाई निरन्तरता दिन नसक्दा विशाल योगफल बनाउन चुकेको थियो।
भारतका रविन्द्र जडेजाले १० ओभरमा ३८ रन खर्चेर २ विकेट लिए। कुलदीप यादवले १० ओभरमा ४७ रन खर्चेर १ विकेट लिए। मोहम्मद शिराजले १० ओभरमा ६० रन खर्चेर २ विकेट लिए। जस्प्रित बुमराहले १० ओभरमा १ मेडनसहित ४१ रन खर्चेर २ विकेट लिए। भारतले पहिलो खेलमा अष्टेलियालाई ६ विकेट, अफगानिस्तानलाई ८ र पाकिस्तानलाई ७ विकेटले हराएको थियो। भारतले अब आइतबार न्युजिल्यान्डसँग खेल्नेछ।