काठमाडौं – द्वन्द्वग्रस्त इजरायलबाट स्वदेश फर्किन पाउँदा नेपाली नागरिक निकै खुसी भएका छन्। इजरायल र प्यालेस्टाइनको युद्धले इजरायलमा असुरक्षित बनेका नेपाली नागरिक स्वदेश फर्किरहेका छन्।
स्वदेश फर्किन पाउँदा निकै खुसी लागेको काठमाडौँको टोखा–८ की श्रीता गुरुङले बताइन्। उनी १४ वर्षदेखि इजरायलमा बसोबास गर्दै आएकी थिइन्। “अहिलेको जस्तो तहसनहस हुने घटना कहिल्यै भएको थिएन। सानोसानो भइरहेको हुन्थ्यो”, उनले भनिन्, “घटनापछि डर लाग्यो। सुरक्षित महसुस गर्न सकिएन। त्यसैले स्वदेश फर्किएँ। यहाँ आएपछि निकै खुसी लागेको छ।”
इजरायलबाट उद्धार गरिएका गुरुङसहित सातजना पश्चिम सीमा नाका कञ्चनपुरको गड्डाचौकीबाट स्वदेश फिर्ता भएका छन्। सरकारले दोस्रो चरणमा उद्धार गरेका १८ मध्ये सातजना बुधबार बिहान गड्डाचौकी नाका भएर महेन्द्रनगर पुगेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए।
उनका अनुसार इजरायलबाट भारत हुँदै गड्डाचौकी पुगेका उनीहरुलाई गन्तव्यसम्म पुर्याउन यातायातको व्यवस्थापन गरिएको छ। “१८ जनामध्ये कोही विमानमार्फत घर गएका छन्। कोहीले भारतमै परिवारका सदस्यसँग भेटेका छन्”, प्रहरी उपरीक्षक थापाले भने, “सातजना गाडीमार्फत महेन्द्रनगर पुगेका छन्। उहाँहरुलाई घरसम्म पुर्याउने तयारी गर्दैछौँ।” भारत सरकारले आफ्ना नागरिकसँगै १८ नेपालीलाई पनि विमानमार्फत दिल्ली ल्याइदिएको उनले बताए।
काठमाडौँका नागरिकलाई विमानमार्फत पठाउने तयारी भइरहेको थापाले जानकारी दिए। हमास समूहको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए। इजरायल र प्यालेस्टाइनको युद्धपछि फसेका २५४ नेपालीलाई पहिलो चरणमा सरकारले नेपाल वायुसेवा निगमको जहाजमार्फत ल्याइसकेको छ।