काठमाडौं – आजबाट मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभाव कमजोर भएको र मनसुन पनि बाहिरिसकेकाले तत्काललाई खासै वर्षाको सम्भावना नरहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । देशका धेरै ठाउँमा अहिले घाम लागेको छ । तर, बेलुकीपख पहाडी क्षेत्रका एक दुई ठाउँमा भने हल्का पानी पर्न सक्ने मौसमविद्को अनुमान छ ।
मनसुन बाहिरिए पनि पश्चिमी वायु सक्रिय हुँदा हिजो र अस्ति पश्चिमी क्षेत्रका धेरै ठाउँमा असिनासहित वर्षा भएको थियो । अन्य पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का मात्रै पानी परेको थियो । असिना पानीका कारण पश्चिमी क्षेत्रमा पाकेको धान तथा तरकारीवालीमा नोक्सानी भएको थियो ।
हिजो अस्तिको वर्षाले चिसो बढाएको छ । देशभरको अधिकतम र न्यूनतम तापक्रम घट्दो क्रममा छ । काठमाण्डौमा हिजोभन्दा आज चिसो छ । आज काठमाण्डौको न्यूनतम तापक्रम १२ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । हिजो १३ दशमलव २ डिग्री सेल्सियस थियो ।
गएको आइतवार काठमाण्डौको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस थियो भने शनिवार १६ दशमलव २ डिग्री सेल्सियस थियो । बिस्तारै चिसो बढ्दै जाने भएकाले तापक्रम अझै घट्दै जाने छ ।