काठमाडौं – भदौमा मुलुकको मूल्यवृद्धि दर औसत ८.१९ प्रतिशत छ । यो पछिल्लो १० महिनायताकै उच्च हो । मरमसला, चिनी तरकारी दूध, मनोरञ्जन, घरायसी उपकरणलगायतको मूल्य बढेपछि गत भदौमा समग्र मूल्यवृद्धि ८ प्रतिशतभन्दा माथि पुगेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले औंल्याएको छ ।
यसअघि ०७९ कात्तिकमा यस्तो मूल्यवृद्धि दर ८.०८ प्रतिशत थियो ।
गत भदौको मूल्यवृद्धि राष्ट्र बैकको वार्षिक लक्ष्यभन्दा १.६९ प्रतिशत बिन्दुले बढी हो । गत आर्थिक वर्षको भदौमा यस्तो मूल्यवृद्धि ८.६४ प्रतिशत थियो । चालु आर्थिक वर्षमा नेपालमा मूल्यवृद्धि दर ६.५ प्रतिशतभित्रै कायम राख्ने लक्ष्य राष्ट्र बैंकले तय गरेको छ । गत वर्ष पनि राष्ट्र बैंकले मूल्यवृद्धि दर वार्षिक लक्ष्यभित्र राख्न सकेको थिएन । गत आर्थिक वर्षको औसत मूल्यवृद्धि ७.७४ प्रतिशत थियो ।