गठबन्धन दलको चर्को दबाबका बीच कोशीका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले बुधबार विश्वासको मत लिँदै छन् । प्रदेशसभाको बिहान ११ बजे बस्ने बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने एकल कार्यसूची रहेको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताएका छन् ।
प्रदेशसभा नियमावली २०७४ को नियम १२८ बमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रस्तावको सूचना प्रदेशसभा सचिवलाई सोमबार दिएका थिए । प्रदेश सरकारको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा (५) अनुसार गत शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले उक्त धाराको उपधारा (४) बमोजिम विश्वासको मत लिन लागेका हुन् ।
कांग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेस नेता शेखर कोइरालानिकट कार्कीले एमालेसहितको समर्थनमा विश्वासको मत लिन लागेका छन् ।
एमालेलाई सरकारमा सहभागी नगराउन गठबन्धन दलले दिएको चर्को दबाबका बाबजुद पनि मुख्यमन्त्री कार्कीले एमाले उपनेता रामबहादुर मगर र कांग्रेस सत्तापक्षसँग विद्रोह गरेका शम्शेर राईलाई बिनाविभागीय मन्त्री नियुक्त गरेर शपथ लिएपछि विश्वासको मत लिन लागेका हुन् । कार्कीलाई सत्ता गठबन्धनले एमालेको समर्थनमा विश्वासको मत नलिन दबाब दिइरहेको छ ।