काठमाडौं – जारी आइसिसी विश्वकप क्रिकेटमा अफगानिस्तानले साविक विश्वकप विजेता इंग्ल्यान्डमाथि ६९ रनको ठूलो जित हात पारेको छ। अफगानिस्तानले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकप विजेता इंग्ल्यान्डलाई हराएको छ।
जितको लागि २८५ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४०.३ ओभरमा २१५ रनमै समेटिन पुग्यो। इंग्ल्यान्डका ह्यारी ब्रुकले सर्वाधिक ६६ रन बनाउनुबाहेक अन्यले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। डेविड मलान ३२, आदिल रासिद २०, मार्क वुड १८ रन बनाएर आउट भए। अफगानिस्तानका मुजिब र रासिद खानले समान ३/३ विकेट लिए।
त्यसअघि अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९.४ ओभरमा २८४ रनमा अल आउट भएको थियो। अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाजले सर्वाधिक ८० रन बनाए। इक्राम अलिखिलले ५८ रन बनाए। इंग्ल्यान्डका आदिल रसिदले ३ तथा मार्क वुडले २ विकेट लिए।
इंग्ल्यान्ड पहिलो खेलमा न्युजिल्यान्डसँग ९ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा भने इंग्ल्यान्डले बंगलादेशलाई १ सय ३७ रनले हराएको थियो। इंग्ल्यान्डले अब शनिबार दक्षिण अफ्रिकासँग खेल्नेछ। अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग ६ विकेट र भारतसँग ८ विकेटले पराजित भएको थियो। अफगानिस्तानको यो पहिलो जित हो। अफगानिस्तानले अब बुधबार न्युजिल्यान्डसँग खेल्नेछ।