काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालू आर्थिक वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताएका छन्।
आइतबार मन्त्रीनिवास पुल्चोकमा सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ) ले चाडबाडका बेलामा हुने भाडादरमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन्।
उनले सम्पूर्ण शक्ति लगाएरै भए पनि जहाज खरिद गरिने बताए। यसका लागि प्रक्रिया सुरु भइसकेको पनि उनले उल्लेख गरे।
‘यो वर्षमा हामी नौं/दशवटा जहाज थप्ने-थप्ने। यो नथपी न पर्यटक आउँछन्, न भाडामा देखिएको विसंगतिमाथि हस्तक्षेप नै हुनसक्छ। न सहज ढंगले आवागमन हुनसक्छ’, मन्त्री किरातीले भने, ‘कडाइका साथ कानून भन्दा बाहिर नगइ काम गराउँछु। दसैंअघि नै केही संकेत आउला। निगममा जहाज थप्नुको विकल्प नै छैन।’
उनले नेपाल वायुसेवा निगमको जहाज थपेर भाडादरमा देखिएको विसंगतिलाई बजार हस्तक्षेप गर्नु नै एकमात्र विकल्प रहेको बताए।