काठमाडौं – स्पिनर दीपेश कँडेलको घातक बलिङको सहयोगमा नेपालले एसिसी यू-१९ प्रिमियर कपमा बहराइनलाई ७ विकेटले पराजित गरेको छ। नेपालको यो दोस्रो लगातार जित हो। जितसँगै नेपाल सेमिफाइनल नजिक पुगेको छ। नेपाल समूह ए को शीर्षस्थानमा छ ।
जितको लागि ७८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। नेपालको जितमा देव खनाल र अर्जुन कुमाल दुवै ३२/३२ रनमा अविजित रहे।
नेपालले १० रन जोड्दा सुरुवाति तीन विकेट गुमाइसकेको थियो। खनाल र कुमालको जोडीले नेपाललाई जिततर्फ लगेका थिए।
ओपनर दीपक बोहरा ४, उत्तमथापा मगर शून्य र दीपक प्रसाद डुम्रे एक रनमा आउट भएका थिए। बहराइनका अन्स ओबैद सैइदले ३ विकेट लिए ।
त्यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन ३७.५ ओभरमा ७७ रनमा अल आउट भएको थियो। बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले सर्वाधिक ३४ रन बनाए। अन्य १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका स्पिनर दीपेश कँडेलले ९.५ ओभरमा ८ मेडनसहित ४ रन खर्चेर ६ विकेट लिए। दीपेश नै खेलको प्लेयर अफ द म्याच चुनिए। तीव्र गतिका बलर दुर्गेश गुप्ताले ८ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ४ विकेट लिए।
नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रनले हराएको थियो। नेपालले अन्तिम खेल बिहीबार साउदी अरेवियासँग खेल्नेछ। उक्त खेलमा विजयी भएमा सेमिफाइनलमा पुग्नेछ।