काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच गठबन्धनप्रति दृढ र स्पष्ट रहनेबारे लिखित सहमति भएको छ।
आज बिहान भएको तीन नेताबीचको छलफलमा लिखित सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सहमतिमा सबैजना सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट रहेको तथा यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने उल्लेख छ।
सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेसका नेता कोइराला निकट केदार कार्की आज बिहान मात्रै कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनी नेकपा एमालेको सहयोगमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका ३९ र कांग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
शनिबार बिहान ४७ जना सांसदहरूको हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
मुख्यमन्त्रीका लागि गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि दाबी पेस गरेका थिए। कोशी प्रदेश सभामा रहेका ९३ सांसदमध्ये बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ।