काठमाडौँ – मनाङ एयरको ‘एन–एनजे’कलसाईन हेलिकप्टर दुर्घटनामा परी घाइते भएका हेलिकप्टरका पाइलट प्रकाशकुमार सेडाइ खतरामुक्त रहेका छन्। अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उनको उपचार भइरहेको छ। पाइलट सेडाइ खतरामुक्त रहेको अस्पतालले जनाएको छ।
सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा आज बिहान दुर्घटनाग्रस्त भएको थियो।
लोबुचेको हेलिप्याड नजिकै दुर्घटनाग्रस्त हेलिकप्टरमा पाइलट सेडाइ मात्र थिए। हेलिकप्टरमा भने आगलागी भएको छ।
हेलिकप्टर के कारणले दुर्घटना भयो भन्नेबारे थप अनुसन्धानपछि मात्रै थाहा हुने प्राधिकरणले जनाएको छ। प्रारम्भिक जानकारीअनुसार हिमाली क्षेत्रमा तीव्र हावा चलेको र सोही हावाको बेगले अवतरणको क्रममा हेलिकप्टर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।