काठमाडौँ – श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) पुरुष भलिबल च्यालेन्ज कपको चौथो खेलमा नेपाल साउदी अरेबियासँग पराजित भएको छ।
कोलम्बोस्थित सुगाथादास इन्डोर रङ्गशालामा पाँच सेट चलेको खेलमा नेपाल साउदी अरेबियासँग ३–२ को सेटमा पराजित भएको हो। खेलको पहिलो सेट २२–२५ ले गुमाएको नेपालले दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्यो। त्यस्तै खेलको तेस्रो सेट २३–२५ ले गुमाएको नेपाललले चौथो सेट २७–२५ ले जित्यो।
त्यसपछिको निर्णायक पाँचौँ सेट नेपालले १६–१४ ले गुमाएपछि नेपाल साउदी अरेबियासँग ३–२ को सेटमा पराजित हुन पुग्यो। प्रतियोतिामा यससँगै चार खेल खेलेको नेपालको यो दोस्रो हार हो। नेपाल श्रीलङ्कासँग ३–० को सोझो सेटमा पराजित भएको थियो।
त्यस्तै नेपालले यसअघि बङ्गालादेशलाई ३–१ र अफगानिस्तानलाई ३–२ को सेटमा पराजित भएको थियो। अब नेपालले लिग चरणको अन्तिम खेलमा भोलि उज्वेकिस्तान खेल्नेछ।