काठमाडौँ – इजरायलबाट उद्धार गरिएका २५४ जना नेपाली नागरिक काठमाडौं आइपुगेका छन्। उनीहरुलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट आज राति नेपाल ल्याइएको हो। उनीहरुलाई लिनका लागि परराष्ट्रमन्त्री एनपी साउदसहित सरकारी अधिकारीहरु इजरायल गएका थिए।
साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका ५०३ जनामध्ये २५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए।
उद्धार गरिएकाहरुलाई लिन विमानस्थलमा उनीहरुका परिवारका सदस्य तथा नातेदार र साथीहरु पुगेका थिए। उनीहरुलाई देख्ने वित्तिकै आफन्तका आँखा खुसीले रसाउँदै विमानस्थलको माहोल नै भावविह्वल देखिन्थ्यो। उद्धार गरेर ल्याइएका नेपालीले आफूले अर्को जीवन पाएको अनुभूती भइरहेको प्रतिक्रिया दिइरहेका थिए।
आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ भने विपिन जोशी अझै वेपत्ता छन्। उनको खोजी जारी रहेको छ। मृतक नेपालीको शव नेपाल ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको मन्त्री साउदले बताएका छन्।