काठमाडौं – अन्जन विष्टको कीर्तिमानी गोलसँगै नेपालले विश्वकप छनोट अन्तर्गत पहिलो चरणको पहिलो लेगमा लाओस विरुद्ध १–१ को बराबरी खेलेको छ।
त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि अन्जनले गोल गर्दा लाओसका लागि कप्तान बौनफाचन बौनकोङले ३३ औं मिनेटमा गोल गरेका थिए। पहिलो हाफमा पछि पारेपछि नेपालले दोस्रो हाफको सुरुवातमा नै खेलमा बराबरी गरेको थियो।
४८ औं मिनेटमा एरिक विष्टको कर्नरमा हेड मार्फत गोल गर्दै अन्जनले नेपाललाई खेलमा फर्काएका थिए। यो गोलसँगै उनले राष्ट्रिय पुरुष फुटबल टोलीबाट सर्वाधिक गोलको कीर्तिमानमा बराबरी गरेका छन्। उनले हरि खड्का र निराजन रायमाझीको १३ गोलको कीर्तिमानीसँग बराबरी गरेका हुन्। उनले आफ्नो ६० औं खेलमा कीर्तिमानी बराबरी गरेका हुन्। सन् २०१४ मा फिलिपिन्सविरुद्ध खेल्दै अन्जनले राष्ट्रिय डेब्यू गरेका थिए।
नेपाल र लाओस बीचको दोस्रो लेग असोज ३० गते लाओसमा हुने छ । दुई खेलमा अघि रहने टोली छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ।