काठमाडौं – आतङ्कवादी समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज बिहान त्यसतर्फ गएको नेपाल एयरलाइन्सको विमानले नेपालका लागि उडान भरेको छ।
विमान तेलअभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालका लागि उडेको हो। विमान आजै राति ९ बजे काठमाडौं अवतरण गर्नेछ।
इजरायलमा रहेका २५३ नेपाली नागरिक लिएर विमान उडेको हो। विमानमा विद्यार्थीसहित परराष्ट्रमन्त्री एनपी साउदलगायत सरकारी अधिकारी सवार रहेका छन्।
इजरायलमा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने ६ जना घाइते भएका थि । एक जनाको अवस्था अझै अज्ञात छ।
शव ल्याउन केही ढिलाइ हुने
इजरायल सरकारले हमाससँग युद्धको घोषणा गरेको अवस्थामा ज्यान गुमाएकाको शव हस्तान्तरणमा कानुनी प्रक्रिया पूरा नभएकाले तत्काल शव ल्याउन भने कठिन भएको छ। यसका लागि इजरायल सरकारसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।