काठमाडौं – बाँकेका योगराज ढकाल (रिगल) को कैद मिनाहाविरूद्ध परेको रिटमा सुनुवाइ गरिरहेको सर्वोच्च अदालतको इजलासले दुई वकिल र महान्यायधिवक्ताको बहस सुनेपछि हेर्न नमिल्ने बताएको छ।
बिहीबारदेखि उक्त रिटमा अन्तिम सुनुवाइ थालेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासले उक्त मुद्दा हेर्न नमिल्ने भनेको हो।
आफूहरूले यस्तै प्रकृतिको मुद्दामा यसअगाडि फैसला गरिसकेको देखिएकाले हेर्न नमिल्ने भनेको सहन्यायाधिवक्ता सूर्यराज दाहालले जानकारी दिए। अब कात्तिक १४ लाई पेशी तोकिएको छ।
हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरको पक्षबाट वकिलहरू बालकृष्ण न्यौपाने र शंकर कटुवालले बहस गरेका थिए।
रिगलले २०७२ असार २८ गते नेपालगन्जमा चेतनको हत्या गरेका थिए। हत्या अभियोगमा जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा रिगललाई हत्यामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो।