काठमाडौँ – यातायात व्यवस्था विभागले स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने ठुलो क्षमताको मेसिन (मास प्रिन्टर) खरिदका लागि चौँथो पटक बोलपत्र आह्वान गर्न लागेको छ। तीन पटकसम्म बोलपत्र आह्वान गरिए पनि उपयुक्त आवेदन नपरेपछि पुनः आह्वान गर्न लागिएको विभागले जनाएको छ।
तेस्रो पटकमा आवेदन परे पनि प्राविधिक रुपमा सफल नभएकाले पुनः बोलपत्र आह्वान गरिएको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले बताए। उहाँका अनुसार यस वर्ष बजेट विनियोजन भएकाले पुनः आह्वान हुनेछ।
“विभागले आह्वान गर्दा उपयुक्त आवेदन नआएको र अमुख कम्पनी वा व्यक्तिका लागि मिल्ने गरी गर्ने नभएकाले पुनः बोलपत्र खुलाउन लागिएको हो”, पनेरुले भने, “हाम्रो मेसिन स्पेसिफिकेसन अनुसारको हुनुपर्छ। फेरी चौँथो पटक पनि परेन भने पुनः आह्वान गर्ने हो।” हाल सञ्चालनमा रहेको प्रिन्टर जस्तै नयाँ प्रिन्टर खरिद गर्न लागिएको भन्दै उनले दुई प्रिन्टर फरक भएमा कार्डको गुणस्तरमा पनि फरक पर्ने भएकाले एकै किसिमको खरिदका लागि बोलपत्र आह्वान गरिएको बताए।