काठमाडौं – नेपालले श्रीलंकामा जारी काभा पुरुष भलिबल च्यालेन्ज कपको आफ्नो तेस्रो खेलमा अफगानिस्तानमाथि रोमान्चक जित हात पारेको छ । नेपालले अफगानिस्तानलाई ३-२ को सेटमा पराजित गर्दै दोस्रो जित हात पारेको हो।
नेपालले अफगानिस्तानलाई २५-१९,१९-२५, २२-२५, २५-२१ र १५-१० ले जित हात पारेको हो । पहिलो सेट जितेपनि त्यसपछि लगातार दुई सेट गुमाएपछि नेपाल एक समय २-१ ले पछि थियो । तर चौथो र पाँचौं सेटमा जितका साथ नेपालले खेल जितेको हो ।
नेपालले यसअघिका दुई मध्ये एक खेलमा जित र अर्कोमा हार बेहोरेको थियो। दोस्रो खेलमाआयोजक श्रीलंकासँग मंगलबार ३–० ले पराजित भएको नेपालले पहिलो खेलमा बंगलादेशलाई ३–१ ले हराएको थियो।
६ टोलीको सहभागिता रहेको च्यालेन्ज कपमा राउन्ड रोविन लिगपछि अंकतालिकाका शीर्ष २ टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।
नेपालले असोज २६ गते साउदीसँग र असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ। फाइनल र तेस्रो स्थानको खेल असोज २८ गते हुनेछ।