काठमाडौं – कानून, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ। समितिलाई उपसिमितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरी आज (बुधबार) समितिले पारित गरेको हो।
उपसमितिले बुझाएको प्रतिवेदनमा उल्लेख भएको सहकारीको विषयमा विधेयकको सहकारी ऐन, २०७४ को दफा ५२ (दफा १८ को उपदफा २ झिक्ने) मा व्यक्तिगत बचतको अधिकतम सीमा २५ लाख हुनेगरी प्रस्ताव भएको विषय हटाउने गरी सहमति भएको समिति सभापति विमला सुवेदीले बताइन्। उनका अनुसार समितिले क्यासिनो सञ्चालनको सम्बन्धमा विदेशी सीमाबाट ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने कुरा थप गरी पारित गरिएको छ।
तत्कालीन प्रचलित कानूनअनुसार ३ किलोमिटरको सीमा बाहिर सञ्चालन गर्ने गरिएका क्यासिनोहरू कायम राख्ने तर तत्कालीन अवस्थामा ३ किलोमिटरको सीमाको नियमअनुसार सञ्चालन नभएकाहरूको हकमा आगामी तीन वर्ष भित्रमा ५ किलोमिटरको सीमाबाहिर आएर सञ्चालन गर्नुपर्ने प्रावधान प्रस्ताव गरिएको बताइन्।