काठमाडौँ – अर्थमन्त्री डा. प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन आज मोरक्को प्रस्थान गरेका छन्।
बैठकमा विश्व आर्थिक दृष्टिकोण, विश्वव्यापी वित्तीय स्थायित्व, गरिबी उन्मूलन, समावेशी आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत विश्वव्यापी चासोका विषयमा छलफल हुने भएको छ । यही असोज २२ गतेदेखि २८ गतेसम्म हुने बैठकको मूल नारा’ ग्लोबल एक्सन, ग्लोबल इम्प्याक्ट’ भन्ने रहेको छ ।
सोही अवसरमा अर्थमन्त्री महतले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का एसिया प्यासिफिक हेर्नुहुने उपाध्यक्ष रिकार्डो पुलितीसँग नेपालमा निजी लगानीको सम्भाव्यता विषयमा छलफल गर्ने बताइएको छ।
त्यसैगरी सोही अवसरमा युएस एडसँग नेपाल र अमेरिकाबीचको विकास साझेदारीका विषयमा छलफल हुने बताइएको छ। सहुलियतपूर्ण वित्तीय व्यवस्थामा पहुँचसम्बन्धी जोखिम तत्वको विषयमा छलफल, विल एण्ड मेण्डिला गेट्स फाउण्डेसनसँग सार्वजनिक डिजिटल पूर्वाधारका माध्यमबाट समावेशी एवं चुनौतीसँग जुध्न सक्षम आर्थिक विकासका सम्बन्धमा छलफल हुने छ। अर्थमन्त्री महतले दक्षिण कोरियाका उपप्रधानमन्त्रीसँग साइडलाइन वार्ता पनि गर्नेछन्।
त्यसैगरी अर्थमन्त्री डा महतले स्ट्याण्डर्ड एण्ड चार्टर्ड बैंक एवं क्रेडिट रेटिङ सम्बद्ध संस्था फ्लिच रेटिङका प्रतिनिधीसँग नेपालको रेटिङ सम्बन्धमा साइडलाइन वार्ता गर्नेछन्। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रतिनिधिसँग संयुक्तरूपमा क्षेत्रीय आर्थिक परिदृष्य सार्वजनिक हुनुका साथै सो संस्थाको दिगो एवं प्रतिरोधी ट्रष्ट समूहसँगसमेत अर्थमन्त्री महतले वार्ता गर्ने बुझिएको छ।