शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको आयोजनामा अंगदान र प्रत्यारोपण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सरकारी तथा निजी अस्पतालका प्रमुखहरुको उपस्थितिमा काठमाडौंमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा बी एण्ड बी अस्पतालका निर्देशक तथा बरिष्ठ चिकित्सक डा. जे एल बैद्य, शहीद गंगालाल हृदय केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारी, वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेल, त्रि. वि. शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेको उपस्थिति थियो ।
त्यसैगरी काठमाण्डौ मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक डा. सुमन श्रेष्ठ, नर्भिक अस्पतालका सीइओ डा. अजय मिश्र, मध्यपुर अस्पतलाका निर्देशक डा. रविन प्रधानाङ्ग, चिरायु अस्पतालका निर्देशक डा. सञ्जिव राजभण्डारी, नेपाल कोरिया मैत्री अस्पतालका निर्देशक डा दिपेन्द्र कुमार रुशा पनि सहभागी हुनुभएको थियो ।
ब्लु क्रश अस्पलका नर्सिङ्ग प्रमुख अञ्जु ढुंगेल, समाजिक अभियन्ता सरना श्रेष्ठ, प्रभात राज भण्डारी र विभाकार शाक्य, कान्ता भट्ट तथा नविना श्रेष्ठ लागयतकोे सहभागिता रहेको राष्ट्रिय प्रत्यारोपण केन्द्रले जानकारी दिएको छ ।
राष्ट्रिय प्रत्यारोपण कार्यकारी निर्दशेक डा.पुकार श्रेष्ठले नेपालमा मस्तिष्क मृत्यु पश्चात हुने अंगदानका सम्बन्धमा चर्चा गर्नुभयो।
उपस्थित सबै अस्पतालका प्रमुख समक्ष अभियानलाई सफल बनाउन आग्रह गर्नुभयो । नेपालमा सडक दुर्घटनाका कारण बर्सेनी तीन ३ हजारको मृत्यु हुने गरेको छ । त्यसमध्ये करीब एक हजार जनाको मस्तिष्क मृत्यु हुने भएकाले ‘ब्रेन डेथ’ दाताको अंगहरू सदुपयोग गर्नसके नेपाल अंग प्रत्यारोपणमा आत्मनिर्भर हुने विषय डा.पुकारले स्मरण गराउनुभएको थियो ।
अस्पतलाका प्रमुखहरूले यस कार्यक्रममा हातेमालो गर्न तत्पर रहेको बताउनुभयो । यसका लागि अंगदान सचेतना अभियान सञ्चालन गर्नुपर्ने र धार्मिक गुरूहरुलाई पनि सहभागी गराउन सके धेरै बिरामीहरुले पुनर्जन्म पाउने सुझाव उहाँहरुले दिनुभयो।
अमेरिकाको कुक कन्ट्री हेल्थ अस्पताल सिकागोका डा. चन्द्र प्रकाश चटौतले शल्यक्रियाबाट ‘कसरी शीघ्र स्वास्थ्य लाभ गर्न सकिन्छ ?’ भन्ने विषयमा प्रस्तुतीकरण दिनुभएको थियो । बेलायलको फ्रिम्यान अस्पतालका सघन उपचार विज्ञ डा. इयान नेसभिटले मस्तिष्क मृत्यु पश्चात हुने अंगदानका सम्बन्धमा प्रकाशपार्नु भएको थियो ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई मस्तिष्क मृत्यूबाट हुने अंगदान र प्रत्याारोपणको लागि समन्वय इकाई तोकिएको छ । कुनै अस्पतालमा मस्तिष्क मृत्यु भएमा उक्त इकाइलाई जानकारी गराउन पर्ने प्रावधान छ । हालसम्म मस्तिष्क मृत्यु भएका व्यक्तिबाट १० जनाको मिर्गौला र ३ जनाको कलेजो प्रत्यारोपण भइसकेको छ ।