गत आइतबार काठमाडौं मेडिकल कलेज(केएमसी)मा इन्टर्न डाक्टरमाथि आक्रमण गर्ने मध्ये एक जनालाई अझै प्रहरीले पक्राउ गर्न सकेको छैन ।
दोषी पक्राउ नपरेसम्मका लागि केएमसीका चिकित्सक तथा विद्यार्थीहरुले आन्दोलन जारी राखेका छन् । घटनामा संलग्न रुपक गौतम र सरोज गौतम उसै दिन पक्राउ परेपनि दोषी भनिएका शम्भु गौतम पक्राउ परेका छैनन्।
दोषीलाई पक्राउ गर्नका लागि चिकित्सकहरुले प्रहरीलाई हिजो थप ४८ घण्टाको अल्टिमेटम दिएका छन् ।
फरार भनिएका व्यक्तिको सबै विवरण आफैँले उपलब्ध गराएपनि प्रहरीले पक्राउ नगरेको आन्दोलनरत एक आवासीय चिकित्सको गुनासो छ । ‘ऊ कहाँ बस्छ, कहाँ काम गर्छ, कहाँ–कहाँ जान्छ सबै विवरण दिँदा पनि पुलिसले पक्रेको छैन’ ती डाक्टरले हेल्थपाटीसँग भन्नुभयो ।
आन्दोलनरत चिकित्सकहरूले दोषी पक्राउ गर्न आइतबार नै प्रहरीलाई ४८ घण्टे अल्टिमेटम दिएका थिए । छिटो पक्राउ गर्न दवाव दिँदै चिकित्सकहरू २ दिनसम्म गौशला प्रहरी चौकीमा धर्ना दिन पुगेका थिए । मंगलबार प्रहरीले थप ४८ घण्टा समय मागेकाले भोलि सम्मको समय दिइएको आन्दोलनरत चिकित्सकको भनाइ छ।
घटनापछि बन्द रहेको ओपीडी सेवा आजबाट पूर्णरुपमा सञ्चालनमा आएको छ । हिजो आंशिक रुपमा ओपीडी खोलिएको थियो । भोलिसम्म दोषी पक्राउ नगरिए फेरि सेवा बन्द गर्ने चेतावनी आन्दोलनरत चिकित्सकको छ ।
अहिले अस्पताल परिसरभित्रै आवायीय र इन्टर्न डाक्टरहरू धर्नामा बसिरहेका छन् । कसैसँग कुनै सहमति नभएको र आन्दोलन जारी रहेको उनीहरूले हेल्थपाटीलाई बताए।
आइतबार दिउँसो साढे १२ बजे इन्टर्न डाक्टर मनिष खड्कामाथि नेफ्रोलोजीको ओपीडीमा आक्रमण भएको थियो ।
घटनामा संलग्न २ जनालाई प्रहरीले घटनालगत्तै पक्राउ परेका थिए । पक्राउ पर्नेमा गुल्मी घर भई काठमाडौं बस्दै आएका २२ वर्षीय रुपक गौतम र ३४ वर्षीय सरोज गौतम रहेका छन् ।